चीन, फागुन २७ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङ मंगलबार वुहान पुगेका छन् । उनले त्यहाँ पुगेर कोरोना संक्रमित विरामी, स्वास्थ्यकर्मी, स्वयंसेवक, सामाजिक कार्यकर्ता आदिसँग भेटघाट गरेका छन् । वुहानबाट डिसेम्बरदेखि कोरोना भाइरस महामारीको रुपमा फैलिएको थियो । जनवरीदेखि बन्द रहेको वुहानमा कोरोना संक्रमितको संख्या घटेपछि उनी त्यहाँ पहिलोपटक पुगेका हुन् ।
मंगलबारसम्म त्यहाँ १९ जनामा मात्र संक्रमण देखिएको थियो । अहिलेसम्म चीनमा ८० हजार ७ सय ५४ मा संक्रमण देखिएको छ भने ३ हजार १ सय ३६ मानिसको मृत्यु भएको छ । ६० हजारभन्दा बढी संक्रमित निको भएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।
त्यहाँ सञ्चारमाध्यमका अनुसार सि जिनपिङ मंगलबार महामारी रोकथाम र नियन्त्रण कार्यको निरीक्षण गर्न पुगेका हुन् । वुहान र यसको प्रान्त हुबेई लामो समयदेखि बन्द छन् । ग्लोबल टाइम्सका अनुसार विश्लेषकहरुले सिको भ्रमणले महामारीको प्रकोपबाट चीन बाहिर आउँदै छ भन्ने बलियो संकेत दिएको बताएका छन् ।
राष्ट्रपतिले कोरोना संक्रमित बिरामीको उपचारका लागि बनाइएको हुओसेन्सन अस्पतालको पनि निरीक्षण गरे । राष्ट्रपति सि वुहानमा कहिलेसम्म रहन्छ भन्ने बारे खुलाइएको छैन ।