काठमाडौं, मंसिर २१ ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुनुअघिको पत्रकार सम्मेलनमा भुटानका कप्तान चेन्चोले पदकका लागि नभइ राम्रो फुटबल खेल्न काठमाडौं आएको बताएका थिए।
कप्तान चेन्चोले भने जस्तै भुटानले पुरुष फुटबलको प्रतिस्पर्धामा निकै राम्रो खेल खेल्यो। त्यहीँ राम्रो प्रदर्शनले भुटानले कम्तिमा रजत जित्ने पक्का भएको छ। भुटानले शनिबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–० गोलले पराजित गर्यो। यो खेलमा भुटानले कप्तान चेन्चोलाई गुमाएको थियो।
कप्तानबिनाको भुटानले उत्कृष्ट खेल पस्क्यो र फाइनलमा स्थान पक्का गर्यो। यसअघि भुटानले समूह चरणमा बंगलादेशलाई १–० र माल्दिभ्सलाई २–१ गोलले पराजित गरेको थियो।समूह चरणमा आयोजक नेपालसँग भने भुटान ४–० ले पराजित भएको थियो।
राउन्ड रोबिनको आधारमा जारी प्रतिस्पर्धामा ९ अंक जोडेर भुटानले फाइनलमा स्थान पक्का गरेको हो। भुटानले सागको ३५ वर्षको इतिहासमा पुरुष फुटबलमा पहिलो पटक फाइनलमा स्थान पक्का गरेको छ।
अब भुटानले स्वर्णका लागि बंगलादेश र नेपाल मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल र बंगलादेशबीच आइतबार साँझ साढे ५ बजे खेल हुनेछ। समूह चरणको अन्तिम खेलअघि नेपालको ७ अंक र बंगलादेशको ४ अंक छ। नेपाललाई फाइनल पुग्न बराबरी काफी छ भने बंगलादेशलाई जित निकाल्नै पर्ने दबाब छ।
हेड टु हेडको अंक तालिकामा वरीयताको टुंगो लाग्ने भएकाले नेपालका लागि बंगालदेशविरुद्धको खेल महत्वपूर्ण छ। किनकि बंगलादेशसँग पराजित भएको अवस्थामा नेपाललाई गोलअन्तरको कुनै पनि काम हुने छैन। त्यसैले नेपाललाई कम्तिमा बराबरीको खाँचो छ।