काठमाडौं, माघ २३ ।
कांग्रेस उपसभापति तथा प्रतिनिधि सभा सांसद विजयकुमार गच्छदारलाई साढे ९ करोडको विगोसहित भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू सभापतिनिवास बूढानीलकण्ठमा आकस्मिक बैठकमा जुटेका छन् । बिहीबार बिहान बोलाइएको बैठकमा केही कानूनविदहरूलाई समेत परामर्शका लागि बोलाइएको छ ।
सभापति निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरू भेला भएर अख्तियारको मुद्याको बिषयमा छलफल गरिरहेको कांग्रेस स्रोतले बतायो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यो सूचीमा कांग्रेस उपसभापति गच्छदारसमेत परेपछि नेपाली कांग्रेस तरंगित बनेको छ । तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री गच्छदारमाथि ९ करोड ६५ लाख ७६ हजार बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मुद्दा दायर भएकै दिन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक पूर्वाग्रह साधेर आफ्ना उपसभापति माथि मुद्दा लगाइएको प्रतिक्रिया दिएका थिए । त्यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अख्तियारको निर्णयले संशय उब्जाएको प्रतिक्रिया दिएका छन् ।
पार्टीको तर्फबाट भने औपचारिक प्रतिक्रिया आउन बाँकी छ । आजको आकस्मिक बैठक पछि कांग्रेसको आधिकारीक धारणा सार्बजनिक हुने सम्भावना रहेको छ ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।