
नेपालगन्ज, फागुन २२ ।

प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। नेपालगन्जको कभर्डहलमा बुधबार भएको फाइनलमा पुलिसले एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हरायो। विभागीय डर्बी भिडन्तमा पुलिसले एकपक्षीय प्रदर्शन गरेको थियो।
पुलिसले २५-१६, २५-१७, २५-१८ को नतिजा निकालेको थियो। टोलीकी मुख्य स्पाइकर सरस्वती चौधरी घाइते भएका कारण एपीएफले यसपटक हार खेपेको हो। उपाधिसँगै पुलिसले दुई लाख रुपैयाँ पुरस्कार पायो। उपविजेता एपीएफले एक लाख रुपैयाँमा चित्त बुझायो। तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हरायो। आर्मीले ५० हजार रुपैयाँ प्राप्त गर्यो।

यसैगरी प्रतियोगितामा पुलिसकी युवा खेलाडी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले १० हजार रुपैयाँ प्राप्त गरिन्। व्यक्तिगत विधातर्फ एपीएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर पुलिसकी मनीषा चौधरी सर्भर, पुलिसकी कमला पुन उत्कृष्ट सेटर, आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर, न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो र पुलिसका रूपेश विष्ट उत्कृष्ट प्रशिक्षक भए। उत्कृष्ट सबैले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाललगायतले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा पाँच टोलीले भाग लिएका थिए।




926 पटक हेरिएको 
















