काठमाडौँ, फागुन २१ ।
बढी मूल्य लिएर मास्क बेचेको आरोपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न सर्जिकल सप्लायर्सहरुलाई जरिवाना गरेको छ । क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेपछि विभागले २ लाख रुपैयाँ जरिवाना गरेको हो ।विभागले नेपाल केयर सर्जिकललाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ ङ को कसुरमा ३९(१) ख अनुसार कारबाही गरेकोहो। क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नले खरिद बिल देखाउन नसक्दा १० हजार जरिवना गरिएको विभागका अनुगमन शाखाका निर्देशक सागर मिश्रले जानकारी दिए।
यसैबीच, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार त्रिपुरेश्वरमा रहेका विभिन्न सर्जिकल सप्लार्यसहरुमा अनुगमन गरेको छ। अनुगमनका क्रममा खनाल सर्जिकल सप्लायर्स,अर्चना सर्जिकल र फिस टेल सर्जिकल हाउसलाई बढी मूल्यमा सर्जिकल आइटम बेचेको पाइएको थियो। विभागले ती सप्लायर्सहरुलाई जनही ५/५ हजारको दरले जरिवाना गरेको छ। सर्जिकल आइटमका खरिद बिल नराखेको भन्दै कारबाही गरिएको विभागले जनाएको छ।
विभागले मास्क लुकाउने र बढी मूल्यमा बेचेको पाइए कारबाही र जरिवाना दुवै हुने बताएको छ। अनुगमनका क्रममा मेडिकल सप्लार्यसहरुले खरिद गरेकोमास्कको बिल लुकाउने र बिक्री गरेको बिल मात्रै देखाएको पाइएको थियो।
सबै सप्लार्यसहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको मिश्रले बताए।
यसैबीच, विभागले कमल पोखरीस्थित सिने स्टारको बिग मुभिजलाई २ लाख ५० हजार जरिवना गरेको छ। अनूचित व्यापारिक कारोबार गरेको भन्दै विभागले बिग मुभिजलाई विभागले मंगलबार अनुगमनको क्रममा जरिवना गरेको जनाएको छ ।