गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत तेस्रो साताबाट शुरु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  633 पटक हेरिएको

काठमाडौं, फागुन ४ ।

गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता अर्को महिना हुने भएको छ । आयोजक गणेशमान सिंह फाउन्डेसनले प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आइतबार पत्रकार सम्मेलन गरी जनाएको छ । काठमाडौंको वसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा सात प्रदेश र तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबका खेलाडीले प्रतिस्पर्धा गर्ने गणेशमान सिंह फाउन्डेसन खेलकुद विभागका संयोजक सञ्जीव तुलाधरले जानकारी दिए ।

प्रतियोगिताका लागि सातै प्रदेशमा छनोट प्रतियोगितासमेत आयोजना गरिने भएको छ । प्रदेश १ को छनोट प्रतियोगिता फागुन १५ देखि १७ गतेसम्म विराटनगरमा सञ्चालन हुनेछ । यस्तै प्रदेश २ र बागमती प्रदेशको छनोट फागुन २० देखि २२ सम्म काठमाडौंमा, गण्डकी प्रदेशको छनोट फागुन २९ देखि चैत १ गतेसम्म पोखरामा हुनेछ ।

प्रदेश ५ र कर्णाली प्रदेशको छनोट चैत ४ देखि ६ गतेसम्म नेपालगन्ज र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता चैत ८ देखि १० गतेसम्म धनगढीमा सञ्चालन हुनेछ । जिल्लास्तरमा छनोट भएका खेलाडीले प्रादेशिक छनोटमा सहभागिता जनाउने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार