काठमांडौ, माघ २३ ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ। स्थानीय तह निर्वाचनको मिति, एमसिसीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे आज अपरान्ह उनीहरू बालुवाटारमा भेटवार्तामा जुटेका हुन्।
प्रधानमन्त्री देउवाले आज प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीलाई बालुवाटार बोलाएका थिए। भेटवार्तामा प्रचण्ड पनि सहभागी छन्। यस्तै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेल पनि भेटवार्तामा सहभागी छन्।
एमाले अध्यक्ष ओलि ७ महिना पछी बालुवाटारमा
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ७ महिनापछी बालुवाटार प्रबेश गरेका छन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न बालुवाटार पुगेका छन्।
सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते लावालस्करसहित बालुवाटार छोडेका ओली त्यसयता फर्किएका थिएनन्। ओलीलाई देउवाले बालुवाटारमा निम्तो नदिएका भने होइनन्। यो बीच दुई पटक देउवाले बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए।
ती दुबै बैठक सबै दलका प्रमुखहरूलाई बोलाइएको भए पनि एमाले अध्यक्ष ओली आफू पनि गएनन् न त पार्टीको तर्फबाट कोही प्रतिनिधि पठाए।
एमाले संसदमा निरन्तर अवरोध गरिरहने र सर्वदलीय बैठकको छलफलमा पनि सहभागी नहुने भएपछि प्रधानमन्त्री देउवाले ओलीसँग एक्लै कुराकानी गरेका थिए। पुस २४ गते देउवा आफैं ओली निवास बालकोट पुगेका थिए।
देउवा बालकोट पुगेको एक महिनापछि ओली आज बालुवाटार आउन राजी भएको स्रोतले जनाएको हो ।



372 पटक हेरिएको 
















