काठमाडौं, माघ १६ ।
शुक्रबारसम्म देशभर ४६ हजार बढीले कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएको तेश्रो दिनसम्म ४६ हजार १ सय ९७ जनाले खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी खोप लगाउनेमा वाग्मती प्रदेशमा छन् । वाग्मतीमा आजसम्म १५ हजार ६ सय ४१ जनाले खोप लगाएका छन् भने सबैभन्दा कम प्रदेश नम्बर १ मा ७ हजार ३ सय ६९ जनाले खोप लगाएका छन् ।
त्यस्तै प्रदेश नम्बर २ मा आजसम्म ४ हजार ६ सय ५०, गण्डकी प्रदेशमा ७ हजार १ सय ५३, लुम्बिनी प्रदेशमा ४ हजार ६ सय ३५, कर्णाली प्रदेशमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनाले खोप लगाएका छन् । पहिलो चरणको खोपको प्राथमिकतामा सरकारले स्वास्थ्यकर्मीहरू, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरू, एम्बुलेन्स तथा शववाहन चालक तथा सहचालकहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयं सेवकहरूलाई राखेको छ । उक्त खोप भारत सरकारले नेपालसरकारलाई निशुल्क उपलब्ध गराएको हो ।