प्रधानमन्त्रि ओलिद्धारा पशुपतिनाथ मन्दिरमा बिशेष पुजा आराधाना, आजै दाङ्ग जाने कार्यक्रम तय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  504 पटक हेरिएको

काठमाडौं, माघ १२ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । उनले बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म एकघण्टा विशेष पूजा गरेको पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । “देशबासीलाई राम्रो होस् भन्ने कामना गर्दै प्रधानमन्त्रीले विशेष पूजा र संकल्प पूजा गर्नुभएको हो,” उनले भने, “उहाँले एकघण्टा विशेष पूजा गर्नुभएको हो ।”

सो अवसरमा कोषका सदस्य सचिव डा. ढकालले पशुपति क्षेत्रमा भएका, हुँदै गरेका र आगामी विकासका योजनाबारे जानकारी गराएका थिए । सदस्यसचिव ढकालले भने, ‘पुनर्निर्माण लगायत यहाँका समसामयिक केही विषयहरुमा मैले जानकारी गराएँ, प्रधानमन्त्रीज्यूबाट स्वाभाविक रुपमा चासो व्यक्त भयो ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पशुपति क्षेत्रमा भएका विकासबारे जानकारी लिन प्रधानमन्त्री ओली पशुपति गएको बताए । ‘विकासका कामबारे हेरिदिन एकदिन आइदिनुपर्ने भन्ने थियो, त्यहीअनुसार आज समय मिलाएर जानु भएको हो,’ थापाले भने ।

पशुपति मन्दिरमा पूजा गरेपछि प्रधानमन्त्री ओली आजै दाङ देउखुरी जाने कार्यक्रम छ । राप्ती नदीमा बनेको पुल उदघाटन र जनसभालाई सम्बोधन गर्न ओली दाङ जाने र आजै काठमाडौं फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार