पुटिनद्वारा प्रस्तुत संविधान संशोधन विधेयक सर्बसम्मतले पारित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  665 पटक हेरिएको

एजेन्सी, माघ १० ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पेश गरेको संविधान संशोधनसम्बन्धी विधेयकको प्रारम्भिक खाका/प्रस्ताव तल्लो सदन डुमाबाट पारित भएको छ । रुसको तल्लो सदन स्टेट डुमाबाट बिहीबार राष्ट्रपतिद्वारा पेश गरिएको संविधान संशोधन विधेयकसम्बन्धी प्रारम्भिक खाका सर्वसम्मतिले पारित भएको हो । डुमाका सबै ४३२ जना सांसदले उक्त विधेयकको पक्षमा मतदान गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

गत हप्ता राष्ट्रपति पुटिनले संविधानमा सुधार गर्न भन्दै संशोधन विधेयक तयार गरेका थिए । सोमबार उनले संधोधन विधेयक स्टेट डुमासमक्ष प्रस्तुत गरेका थिए । संविधानका १४ वटा धारा संशोधन गर्न भन्दै पुटिनले पेश गरेको उक्त विधेयकको प्रारम्भिक खाकामाथि डुमामा २ घण्टासम्म छलफल भएको थियो । छलफलपछि प्रारम्भिक खाका सर्वसम्मतिले पारित गरिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

बिहीबार भएको मतदान पहिलो चरणको हो भने दोस्रो चरणको मतदान आगामी फेब्रुअरी ११ तारिखमा हुने जनाएको छ। संसदमा राष्ट्रपति पुटिन पक्षधरका सांसदहरुको नै बहुमत रहेकाले आगामी मतदानबाट पनि उनको प्रस्ताव पारित हुने निश्चित जस्तै रहेको जनाइएको छ। पुटिनले संबिधान संशोधनको प्रस्ताव ल्याएसँगै तत्कालिन प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका थिए।

तत्कालिन प्रधानमन्त्रीले राजीनामा दिएपछि केहीदिनमा उनले नयाँ प्रधानमन्त्री र मन्त्रीहरु समेत नियुक्त गरिसकेका छन्। राष्ट्रपति पुटिनले प्रस्ताव गरेको नयाँ व्यवस्था अनुसार राष्ट्रपतिसँग रहेका कतिपय अधिकार संसद र राज्यका अन्य विभिन्न निकायहरुलाई दिइने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार