राष्ट्रिय पुनःनिर्माण प्राधिकरण औपचारिक रुपमा बिघटन बाँकीकाम शहरी बिकास विभागबाट गरिने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  462 पटक हेरिएको

काठमाडौँ, पुस ९ ।

नेपाल सरकारको निर्णयानुसार बाँकी कार्यभार तोकिएका निकायलाई सुम्पिँदै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई बिहीबार औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । हिजो एक औपचारिक कार्यक्रमका बिच राष्ट्रीय पुनर्निर्माण प्राधिकरण औपचारिक रूपमा बिघटन भएको हो ।

प्राधिकरणका कार्यभार, काम, संरचना र पुँजीगत विवरण शहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गर्दै प्राधिकरण आजदेखि बहिर्गमन भएको हो ।

बहिर्गमन हुनुअघि प्राधिकरणले धरहरा, सिंहदरबार, रानीपोखरी, शान्तिबाटिका, हरिहर भवन तथा नारायणी सङ्ग्रहालय अन्तर्गतको रणेद्धिप दरबारसम्बन्धी कार्य तथा केन्द्रीय आयोजना कार्यान्यवन भवन भवन, नीति, आवास अनुदान व्यवस्थापनसँग सम्बन्धित कागजात र वेरुजु शहरी विकास तथा भवन निर्माण विभागमा हस्तान्तरण गरेको थियो ।

गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाललाई उक्त फाइल हस्तान्तरण गर्नुभयो ।

प्राधिकरणले पुनःनिर्माण तथा पुनःस्थापनाका लागि बाँकी रहेका काम, कानूनी तथा नीतिगत व्यवस्था, पुनरावेदन समितिबाट प्राप्त हुने फैसला र आदेशको कार्यान्वयन तथा समन्वय सहजीकरण तथा अनुगमनसम्बन्धी कार्य राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ ।

यस्तै विश्व बैंकसँग सम्बन्धित प्राविधिक सहयोग सोध भर्ना, परियोजना एकाउण्ट र प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायबाट सम्पादन भइरहेका पुनःनिर्माण तथा पुनस्थापनका कार्य, प्राधिकरणअन्तर्गत चालु र पुँजीगत खर्चका आव २०७८÷७९ को एकीकृत आर्थिक विवरण तयार पार्ने, लेखा परीक्षण तथा बेरुजु फस्र्यौटसम्बन्धी कार्य पनि विपद् व्यवस्थापन प्राधिकरणलाई नै हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कर्याकारी अधिकृत सुशील ज्ञवालीले विपद् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई फाइल हस्तान्तरण गरी औपचारिक रुपमा प्राधिकरणका कार्यभार सुम्पिनुभएको थियो ।

२०७२ वैशाख १२ को गोरखा भूकम्पपछि त्यसको पुनःनिर्माण र पुनःस्थापनका लागि प्राधिकरण स्थापना भएको थियो । पाँच वर्षको कार्यअवधि रहे पनि जिम्मेवारी पूरा नभएकाले नेपाल सरकारले एक वर्षको समयावधी थपेको थियो । उक्त थपिएको समय यही पुस १० गते ६ वर्ष पूरा हुँदैछ । पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख ज्ञवालीले चुनौतीपूर्ण समयमा सरकारले विश्वास गरेर दिएको जिम्मेवारी आमनेपाली जनसमुदायको सहयोगमा सम्पन्न गर्न सफल भएको दाबी गर्नुभयो ।

‘पुनःनिर्माण काम सम्पन्न ग¥यौ भनेर अन्तर्राष्ट्रिय समुदायका बीच छलफल गर्‍यौँ, सिकेको अनुभवबाट अबको बाटो के हुनसक्छ भनेर संस्लेषण गर्‍यौँ, उहाँले भन्नुभयो । बुधबार मात्रै निर्देशक समितिको बीचमा छलफल गरेर नेपालको पुनःनिर्माण सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालिएको उहाँले जानकारी दिनुभयो ।

यो अनुभव र जगमा उभिएर आगामी सन् २०३० सम्ममा विपद् उत्थानशिल मुलुकको रुपमा विकास गरेर जानुपर्छ भन्ने सोच अघि बढेको उहाँले बताउनुभयो । उहाँले दिगो विकासका लागि सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित गर्नेपर्ने आधार यो पुनःनिर्माणको कामले निष्कर्ष निकालेको पनि बताउनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले पुनःनिर्माण प्राधिकरणको अभिभारा विपद् प्राधिकरणमा आएको र ६ वर्षको अनुभवबाट भूकम्प, बाढीपहिरो, आगलागी जस्ता विपद्जन्य घटनाबाट मुलुकलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्नेमा नै ध्यान केन्द्रित हुने बताउनुभयो ।

यसअघि पुनःनिर्माण प्राधिकरणले गएको असोज १ गते पनि कतिपय कार्यभार तत्तत् निकायलाई हस्तान्तरण गरिसकेको थियो । प्राधिकरणका अनुसार हालसम्म निजी आवासमा ९२ प्रतिशत, पुरातात्विक क्षेत्रमा ८५ प्रतिशत, सरकारी भवन ९२ प्रतिशत सम्पन्न भएको छ । शैक्षिक भवन ८५, स्वास्थ्य संस्था ८०, एकीकृत बस्ती ६० प्रतिशत सम्पन्न भएको छ । सुरक्षा निकायका भवन शतप्रतिशत सम्पन्न गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार