जसपाले महन्त ठाकुर सहित १६ नेतालाई कार्यकारिणी समितिबाट हटायो, सांसद पद पनि धरापमा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  565 पटक हेरिएको


काठमाडौं, साउन २५ ।   

जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ । जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले गत ११ साउनमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ । आधिकारिकता विवादमा आयोगले हेडकाउन्ट गर्दा यादव पक्षमा उभिएका ३४ जना र तटस्थ बसेका रेशम चौधरीको नाममात्र केन्द्रीय कार्यकारिणी समितिमा राखिएको छ ।

आयोगको सोमबार बसेको बैठकले जसपाले पठाएको नयाँ कार्यकारिणी समितिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ‘जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति थियो, अब ३५ सदस्यीय भएको छ’ उनले भने ।

ठाकुर पक्षमा उभिएका १६ जनालाई कार्यकारिणी समितिबाट हटाइएको नेता गंगानारायण श्रेष्ठले बताए । एक नेताका अनुसार पार्टीको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ । महन्थ ठाकुरलाई अध्यक्षबाट हटाएपछि के गर्ने भन्नेबारे छलफल भइसकेको छैन । ठाकुर पक्षका १६ नेताहरूलाई कार्यकारिणी समितिबाट हटाएपनि निजहरुको सांसद पद भने तत्काल नजाने भएको छ । निज १६ कार्यकारिणी समितिका सदस्य समेत रहेका ठाकुर पक्षका नेताहरुलाई सदस्य पदबाट भने नहटाईएकोले तत्काल सांसद पद भने नजाने जनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार