चौधरी ग्रुपले वाइवाइ चाउचाउको उत्पादन काजगस्थानबाट शुरू गरे

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  860 पटक हेरिएको

काजगस्थान, मंसिर २० ।

चौधरी ग्रुपले काजगस्थानबाट पनि वाइवाइ चाउचाउ उत्पादन सुरू गरेको छ। सेन्ट्रल एसियन मुलुक काजगस्थानमा निर्मित वाइवाइको प्लान्टको त्यहाँका प्रधानमन्त्रीले आज उद्घाटन गरेका छन्।

उत्पादन प्लान्ट आजदेखि उद्घाटन गरिएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका छन्।

यो प्लान्टबाट उत्पादन हुने उत्पादन युरोएसिया क्षेत्रमा जाने उनले जानकारी दिएका छन्। यो वाइवाइको तेस्रो ग्लोबल प्लान्ट हो। 

हाल विश्वभर वर्षमा २ अर्ब २० करोडभन्दा बढी बिक्री भइरहेको वाइवाइले विश्व तयारी चाउचाउ बजारको २.२ प्रतिशत हिस्सा ओगटेको छ। नेपालमा ६ र भारतमा आठ प्लान्टमार्फत उत्पादन भइरहेको वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा २७ प्रतिशत हिस्सा ओगटेको छ। चौधरी ग्रुप बंगलादेश, केन्या र साउदी अरेवियामा पनि वाइवाइका प्लान्ट स्थापना गर्ने तयारीमा छ।

नेपालका एकमात्र ‘फोर्ब्स’ सूचीकृत अर्बपति विनोद चौधरीले विसं २०४१ सालमा थाइल्यान्डबाट वाइवाइ भित्र्याएका हुन्। त्यतिबेलै उनले यसको अन्तराष्ट्रिय ब्रान्ड अधिकार पनि आफूसँगै ल्याएका थिए। यो तीन दशक अवधिमा ललितपुरको भैंसेपाटीबाट सुरु भएको वाइवाइ नवलपरासीको उद्योग ग्राम हुँदै बर्दियासम्म फैलिएको छ। अब पूर्वी क्षेत्रका लागि इटहरीमा छुट्टै प्लान्ट बनाउने उनको तयारी छ।

ग्रुपले युरोपको सर्विया, भारतमा सिक्किम (रम्पो) बाट सुरु भएको वाइवाइ उत्पादन उत्तराखण्ड (रुद्रपुर), आसाम (गुवाहाटी र सिल्चर), बिहार (पूर्णिया) हुँदै आन्द्राप्रदेश (चित्तुर) सम्म पुगिसक्यो।

सन् २०२० भित्र एसिया, युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका १० वटा देशमा वाइवाइ उत्पादन सुरु गर्ने योजना बनाएको ग्रुपले साउदी र बंगलादेशबाट पनि उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार