काठमाण्डौं, मंसीर १ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन मनाइने नेपाल संवत्अनुसारको नयाँ वर्ष आज मनाइँदैछ । नेसं ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिँदैछ । यस वर्ष कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम भने आयोजना नगरिने जनाइएको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋणमोचन गरी नेसंको शुरुआत गराउनुभएको थियो । नेसंले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो । “लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो ।
विसं २००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेसंलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो ।
विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेसंले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ ।
म्ह:पूजा
साँझ शुक्ल प्रतिपदा परेका दिन नेवार समुदायमा म्हः ९आत्म० पूजा समेत गर्ने परम्परा रहेको बगलामुखी पात्रोका पञ्चाङ्गकार शशिधर जोशीले जानकारी दिनुभयो । यस वर्ष आइतबार साँझमै शुक्ल प्रतिपदा परेकाले यसै दिन पूजा गर्नुपर्ने निर्णय गरिएको उहाँले सुनाउनुभयो । साँझ कार्तिक शुक्ल प्रतिपदा परेका दिन आइतबार नै नेवार समुदायका मानिसले आफ्नो म्हःपूजा पर्व मनाएका छन् ।
यस वर्ष आइतबार र सोमबार दुई दिन प्रतिपदा तिथि परेका छन् । एकथरि नेवार समुदायले आइतबार म्हःपूजा गरेका छन् । अर्काथरिले भने आज सोमबार गर्दैछन् । सोमबार नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले मंगलबार भाइटीका गर्ने जानकारी गराएका छन् । यस अवसरमा मङ्सिर २ गते मङ्गलबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा गौतमले राससलाई जानकारी दिनुभयो । आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको सार्थक हुने धार्मिक विश्वास छ ।