काठमाण्डौं, कार्तिक ३० ।
नेकपा भित्र अल्पतमतमा परेपछि प्रचण्डको चरम बिरोधमा लागेको ओली पक्षका नेतालाई माधव नेपाल पक्षीय नेताहरुले पनि काउन्टर दिन थालेका छन् । नेकपा भित्र प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ मिल्नासाथ सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा समेत ओली पक्ष अल्पमतमा छ । यही अल्पमतमा रहेकै कारण प्रधानमन्त्री ओली पार्टीको बैठक राख्न समेत तयार भएका थिएनन् भने उनी बैठकका निर्णय लागू गर्न पनि आनाकानी गरीरहेको अन्य नेताको बुझाई छ ।
अरु तर्क गर्न सकिएला, प्रचण्डलाई ‘पदलोलुप’ भनेको सुहाउँदैन । कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा स्वीकार नगरेर पार्टी एकता अघि बढाउने र आधा कार्यकालको लिखित सहमतिलाई बीचैमा छाडिदिने व्यक्तिलाई पदलोलुप कसरी भन्न मिल्ला र ? अनि ख्याल गरौँ– प्रचण्डले साथ नदिएको न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री । यति नभइसकेपछि अरु साथीहरुले रोजी–खोजी विभिन्न पद पाउने त सम्भावनै हुन्थेन । त्यसैले जसको सहयोगमा आफू पदमा बसिरहेको छ, उसैलाई ‘पदलोलुप’को आरोप लगाउँदा लोकले पत्याउला र ?
चौतर्फी दबाब पछि बल्ल बैठक बस्न तयार भए पनि सचिवालयको बैठकमा पत्र आदान प्रदान र पार्टीको राजनीतक प्रतिवेदन पेश प्रचण्डले गरेका छन् । त्यही प्रतिवेदन र पत्रमा ओलीमाथि केही गंभीर आरोप प्रचण्डले लगाए पछि ओली पक्षधर नेताहरु प्रचण्ड बिरुद्ध आक्रामक बनेका छन् । शंकर पोखरेलदेखि सूर्य थापा सम्म प्रचण्ड बिरुद्ध खनिएर सामाजिक सञ्जालमा प्रचण्डको प्रतिवेदन फिर्ता हुनु पर्ने अन्यथा छलफलै नहुने बताउन थालेका छन् ।
यही बेला माधव नेपाल पक्षीय नेताले भने प्रचण्डको बचाउ गरेका छन् । नेपाल पक्षीय नेता एवं विदेश विभागका उपप्रमुख बिष्णु रिजालले सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रचण्डले त्याग गरेर सहयोग गरेकाले नै केपी ओली प्रधानमन्त्री र बिद्या भण्डारी राष्ट्रपति बन्न सफल भएको भन्दै प्रचण्डलाई पदलोलुप भन्न नमिल्ने बताएका छन् । अनि ख्याल गरौं, प्रचण्डले साथ नदिएको न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री।यति नभइसकेपछि अरू साथीहरुले रोजी–खोजी विभिन्न पद पाउने त सम्भावनै हुन्थेन। रिजालले लेखेका छन् ।