संखुवासभा, कात्तिक २६ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभामा पुगेर आफ्ना सेतै फुलेका जुँगाको प्रशंग निकालेका छन् । उनले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने प्रष्ट सन्देश दिएका छन् ।
बुधबार संखुवासभा पुगेका प्रधानमन्त्री ओलीले आफूलाई जनताले प्रधानमन्त्री बनाएको हुनाले कसैले राजीनामा माग्दैमा नदिने बताए । आफू पार्टीको अध्यक्ष भएकाले अरुलाई पार्टीभित्रको समस्याबारे चिन्ता नलिनसमेत आग्रह गरे ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले भने, ‘यो पार्टी यत्तिकै बनेको होइन, ५० वर्ष अगाडि जुँगामा भर्खर रेखी बस्दैथ्यो, अहिले टन्न फुलेको देख्नुहुन्छ । त्यसबेलादेखि टुटेफुटेको पार्टी मिलाउँदै मिलाउँदै मिलाउँदै यहाँ पुर्याएको हो ।’
पार्टीभित्रको समस्यालाई मिलाएरै यहाँसम्म आएको बताउँदै उनले भने, ‘पार्टीभित्रका समस्याहरु… म अध्यक्ष छु, तपाईहरु किन चिन्ता गर्नुहुन्छ ?’
सरकार परिवर्तनको हल्ला निराधार भएको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘बिहानै उठ्यो सरकार परिवर्तनका कुरा तपाईहरु रेडियोबाट सुन्नुहुन्छ । बिहानै उठ्यो पार्टीको नेतृत्व परिवर्तनका कुरा सुन्नुहुन्छ । अहिल्यै सरकार गयो, भरै सरकार गयो, प्रधानमन्त्री फाइल बोकेर राष्ट्रपतिका तिर कुद्दैथ्यो, राजीनामा दिन गयो…. यस्ता कुराहरु पनि सुन्नुहुन्छ ।’
आफू रहरले भन्दा पनि जनताको विश्वासले प्रधानमन्त्री बनेको उनले बताए । ‘मैले धेरै ठाउँमा भन्ने गरेको छु, म रहरले प्रधानमन्त्री भएको होइन’ प्रधानमन्त्रीले अगाडि भने, ‘जनताले आवश्यकता देखेर, देशको आवश्यकता बुझेर जनताको भोटबाट, जनताको मायाबाट म देशको प्रधानमन्त्री भएको हुँ ।’
आफूसँग नजिकै आएर नभेटेकाले र कुरा नबुझेकाले मात्रै आफ्नो विरोध गर्ने गरेको प्रधानमन्त्रीको भनाइ थियो ।