मोहम्मद अफताबलाई फसाउन खोजेको कांग्रेस सभापति देउबाको आरोप

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1155 पटक हेरिएको

काठमाडौं, कार्तिक २ । चौध जनालाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग लागेका नेपाली कांग्रेसका नेता तथा रौतहट–२ कांग्रेस तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम पक्राउको बिरोधमा कांग्रेस आन्दोलित भएको छ । अफताबलाई प्रहरीले पक्राउ गरेसंगै कांग्रेसका सभापति शेर बहादुर देउबाले बिरोधसभामा बोल्दई सरकारले षडयन्त्र पूर्वक हाम्रा नेता कार्यकर्तालाई जेल हाल्ने रणनीतिमा रहेको आरोप लगाउनु भयो ।

२०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले आलमलाई आइतबार बिहान इद्रिस गेट अगाडिबाट पक्राउ गरेपछि कांग्रेस आन्दोलित भएको हो ।

सांसद पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले सोमबार बिहानदेखि विभिन्न स्थानमा टायर बालेर विरोध गरिरहेका छन् । बिहानदेखि सदरमुकाम गौरका विभिन्न स्थानमा कार्यकर्ताले टायर बालेर विरोध गरिरहेका छन् । गौरको बसपार्क, सबगढा, राजपुर फरदहवा, जयनगर, कोपवा लगायतका स्थानमा आलम समर्थकले टायर बालेर विरोध गरिरहेका छन् ।

२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा पहिलो संविधान सभाको निर्वाचनको पूर्वसन्ध्यामा ‘बूथ कब्जा’ गर्ने उद्देश्यले बम बनाउने क्रममा विष्फोट हुँदा कम्तीमा दुईजनाको घट्नास्थलमै मृत्यु भएको थियो । घटनामा परि घाइते भएका अन्य १३ जनालाई समेत जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको छ ।

बम विस्फोट हुँदा २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्र्षका ओसी अख्तरको मृत्यु भएको थियो । विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप लगाउँदै उनीहरुको परिवारका सदस्यहरु श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए ।

सो अभियोगमा परेको किटानी जाहेरीको आधारमा मुख्य अभियुक्त भनिएका आलम घटना भएको एकवर्ष पछि अर्थात् २०६५ असार ९ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर समेत भएका थिए । आलम सहित ५ जना अभियुक्तलाई प्रतिवादी बनाइ दायर गरिएको जाहेरीमा महान्यायधिवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी आदेश गरेको थियो ।

उक्त आदेशविरूद्ध पीडित परिवारका तर्फबाट शेख रोक्साना खातुन र सरुअठा निवासी श्रीनारायण सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटको सुनुवाइ गर्दै २०६९ साल जेठ १६ गते तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेश कार्यान्वयन नभएपछि जाहेरवालाले फैसला कार्यान्वयन निर्देशनालयमा उजुरी दिँदा गत चैत ८ गते पुनः पक्राउ गर्न आदेश जारी गरेको थियो। बम काण्डमा घाइते भएका छोरालाई जिउँदै जलाएको भन्दै किटानी जाहेरी दिने महिला रोक्साना खातुनको पनि गोली हानेर हत्या गरिएको थियो ।मोहम्मद अफताव आलम नेपाली कांग्रेसका नेता तथा स्थानीय विकास मन्त्रालयका पूर्व मन्त्रि हून ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार