कोरोना संक्रमणबाट धरानमा १ र बीरगंजमा २ जनाको निधन, संक्रमणबाट निधन हुनेको संख्या ५२ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  709 पटक हेरिएको

धरान, साउन १४ ।  

कोरोना संक्रमणका कारण धरानमा आज थप एक जनाको मृत्यु भएको छ । मृतक ४५ बर्षका रहेको र उनी मोरङको सुनवर्षी नगरपालिका निवासी भएको जनाएको छ । उनी केही दिन अघि बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना भएका थिए । बिपीमा यस अघि सप्तरी र महोत्तरीका संक्रमितको पनि मृत्यु भएको थियो । उनलाई जटिल समस्या देखिएपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पतालबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।

सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तिको वीपीको भेन्टिलेटरमा राखिए पनि अपरान्ह ४ः४५ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । दशदिन भारत स्थित ससुरालीबाट घर फर्किएका उनी मंगलबार कोशी अस्पतालको फिबर क्लिनिकमा परीक्षणका लागि आएका थिए । ज्वरो तथा खोकीको समस्या देखिएपछि कोशीको आईसोलेशनमा भर्ना गरिएको थियो ।

पर्साको बीरगञ्जमा पनि दुईको निधन

आजै बीरगञ्जमा दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । पर्सामा पनि कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय बृद्ध र गण्डक कोभिड अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको कोरोनाले मृत्यु भएको हो । तीमध्ये नेसनल मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएका पुरूषको भने भर्खरै नतिजा पोजेटिभ आएको हो । गण्डक अस्पतालमा मृत्यु भएका संक्रमितलाई गत साउन ८ गते अस्पताल भर्ना गरिएको थियो। यो सँगै पर्सामा मात्र कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।

अहिले पनि अस्पतालमा भर्ना गरिएका धेरै संक्रमित लक्षण सहितका छन् । चारजना आईसियुमा रहेका छन। कोभिड अस्पतालमा क्षमता भन्दा बढी संक्रमित भएपछि लक्षण नभएका संक्रमितहरूलाइ सेमि आइसोलेसन सेन्टर र होम आइसोलेसनमा राख्नुपर्ने अवस्था सृजना भएको पर्साका सहायक सिडिओ ललितकुमार बस्नेतले जानकारी दिए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार