प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जवानमा कोरोना संक्रमण पुष्टि, हालसम्म देशभर १ सय १५ प्रहरी संक्रमित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  707 पटक हेरिएको

काठमाडौँ , साउन ११ । 

प्रहरी प्रधान कार्यालयमा कार्यरत एक हवल्दार र सञ्चार निर्देशनालयमा कार्यरत तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यलयमा कार्यरत अरुमा पनि कोरोना संक्रमणको आशंका गरिएको छ । हवल्दारमा कोरोना पुष्टि भएपछि उनी बस्ने ब्यारेकका १६–१७ जना प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब नमुना लिएर आइसोलेसनमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार मुख्यालयभित्रै रहेको सञ्चार निर्देशनालयमा कार्यरत तीन जनालाई पनि संक्रमणको आशंका गरिएकोमा आज पुष्टि भएको छ । उनीहरुमा ज्वरोसहितका लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । प्रयोगशालाबाट पीसीआर रिपोर्ट आए पनि ३ जनाको नतिजा प्रहरीले सार्वजनिक गरेको थिएन । उनीहरु तीन जनामध्ये एक प्रहरी मेसमा सहयोगीका रुपमा काम गर्थे भने २ प्रहरी मेसका लागि आवश्यक सामग्री ल्याउने काम गर्थे ।

प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले मुख्यालयभित्र देखिएको संक्रमणबारे आधिकारिक रुपमा स्वास्थ्य मन्त्रालयले बताउने भएकाले आफूहरुले बताउन नमिल्ने जनाए । उनले हालसम्म देशभर १ सय १५ प्रहरी संक्रमित रहेको र उनीहरुको सम्पर्कमा आएका सबैजनालाई आइसोलेसनमा राखिएको बताए ।

प्रवक्ता डीआईजी शाहीले मुख्यालयभित्र प्रवेश गर्नेमाथि सुरुदेखि नै कडाइ गरिएको र केही दिनयता त्यहाँभित्र कार्यरत केहीलाई त्यहीँ बस्ने व्यवस्था गरिएको बताए । प्रहरी स्रोतका अनुसार केही उच्च प्रहरी अधिकारीहरुका चालक प्रहरी जवानलाई पनि कोरोना संक्रमणको आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार