लकडाउन जेठ ३२ गतेसम्म बढाउने र बिदेशबाट ल्याऊनेको व्यवस्थापनमा सेना परिचालन गर्ने मन्त्रिपरिषदको निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  528 पटक हेरिएको

vision-online-advertise

काठमांडौ, जेठ १७ । 

सरकारले जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको हाे । गत चैत ११ गतेदेखि गरेको लकडाउन पछिल्लाे पटक जेठ २० गतेसम्म गर्ने सरकारकाे निर्णय थियाे । शनिवारकाे मन्त्रीपरिषद् बैठकले थप १२ दिन लकडाउन गर्ने निर्णय गरेकेा हाे।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले पत्रकारहरूलाई जानकारी दिए ।

यस्तै अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ । मन्त्री खतिवडाले भने, ‘अन्तर्राष्ट्रिय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने भएको निर्णयलाई २०७७ साल असार १६ गते अर्थात् जुन ३० सम्म सीमा क्षेत्रको आवागमन स्थगित गर्ने निर्णय भएको छ, सीमामा थप कडाई गर्ने निर्णयसमेत भएको छ ।’ साथै दुई देशको सहमतिमा आउजाउ गर्दा पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चेकजाँच गरिने सरकारका प्रवक्ता डा. खतिवडाले बताए ।

साथै बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।

पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

सेना परिचालन गर्ने निर्णय

सरकारले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण बढी भएको स्थानमा पनि सेना परिचालन गर्ने निर्णय गरेको छ ।

सरकारले भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई ल्याउने निर्णय गरिसकेको छ भने भारतबाट आउनेका लागि २० वटा नाका तोकेको छ ।

मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो, त्यसमा सीमा सुरक्षाबारे छलफल भएको थियो ।उक्तबैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापनमा र संक्रमण बढी फैलिएको स्थानमा सेना परिचालन गर्न सिफारिस गरेको थियो ।  सीमामा कडाई गर्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई अझ बढी परिचालन गर्ने निर्णय भएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार