स्वास्थ्यलाई गत वर्षभन्दा २१ अर्ब ९१ करोड बजेट बढी, महिला स्वयंसेविकाको यातायात खर्च दोब्बर

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  497 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, जेठ १५ । 

आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट छुट्याएको छ । गत वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । यो वर्ष गत वर्षको भन्दा २१ अर्ब ९१ करोडले बढी हो ।

स्वास्थ्य मन्त्रालयले नयाँ कार्यक्रम सञ्चालनका लागि यसवर्ष २८ अर्ब ३१ करोड ८२ लाख बजेट माग गरेको थियो भने अन्य नियमित कार्यक्रम र चालु खर्चका लागि ५४ अर्ब ८३ करोड प्रस्ताव पेश गरेको थियो ।

सरकारले यो वर्षको बजेटमा मुख्य गरी संक्रामक रोगहरूको उपचार नियन्त्रण र अनुसन्धानलाई जोड दिएको छ । स्वास्थ्य क्षेत्रको पूर्वाधारको लागि १२ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्य संस्थामा दरबन्दी थप गर्नको लागि पनि बजेट विनियोजन गरिएको छ ।

कोरोना संक्रमितहरुको उपचारका लागि ६ अर्ब छुट्याइएको छ भने संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूको लागि ५ लाखको बिमाको व्यवस्था गरिएको छ । एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम’ यो वर्षबाट सुरुवात गरिने भनिएको छ । त्यसका लागि पाँच अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च दोब्बर बनाइएको छ भने कान्ति बाल अस्पतालमा आईसीयू थप गरिने छ । कान्ति बाल अस्पताललाई बालरोगका विभिन्न विधामा उच्च शिक्षाको अध्ययन गर्ने उत्कृष्ट केन्द्रको रुपमा विकास गर्ने भनिएको छ ।

विपद्को बेलामा निजी क्षेत्रका अस्पताललाई उपयोगमा ल्याउन सक्ने व्यवस्था गरिएको छ । त्यसैगरी संक्रामक रोगको उपचार गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को क्षमता विस्तार गरिने बताइएको छ । स्थानीय तहमा थप दुई सय ७२ वटा स्वास्थ्य संस्था निर्माण गर्नका लागि १४ अर्ब ७२ करोड रुपैयाँ छुट्याइएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार