चितवन, वैशाख १६ ।
भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन । केन्द्रबाट पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले समेत फोन तथा प्रत्यक्ष भेटेर उम्मेद्वारि फिर्ता गर्न दबाब दिएका थिए । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसमेत पौडेललाई मनाउन उनको घरमै पुगेका थिए । तर उम्मेदवार फिर्ता लिनुको साटो पौडेलले चुनावी तयारी थालेका छन् ।
उनलाई उम्मेदवारी फिर्ता गराउनका लागि गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले दुई दिन भरतपुरमै बिताएका थिए । तर पौडेलले अडान नछोडेपछि उनीहरु शुक्रबार दिउँसो काठमाडौं फर्किएका थिए । उनीहरुले पौडेलको उम्मेदवारी फिर्ता गराउने प्रयासस्वरुप पौडेलका समर्थक कृष्णलाल सापकोटा लगायतका कांग्रेस नेताहरुसँग छलफल गरेका थिए ।
तर उनीहरुले पनि उम्मेदवारी फिर्ता गर्न मानेनन् । ‘उम्मेदवार मात्र होइन, प्रस्तावक र समर्थकले नै उम्मेदवारी फिर्ता लिन मान्नुभएन,’ छलफलमा सहभागी एक नेताले भने । उनीहरु भरतपुरमा कांग्रेसको पकड राम्रो भएकोले कांग्रेसी मतदातालाई धोका दिन नहुने र नसकिने जबाफ दिदै उम्मेद्वारि फिर्ता नलिने अडान निरन्तर राखिरहे । निजको पक्षमा केन्द्रबाट जति दबाब र असहयोग भएपनि आफुलाई सिंगो भरतपुरबासीको समर्थन रहेकोले पनि उम्मेद्वारि फिर्ता नहुने जबाफ फ़र्काएका थिए ।