काठमाडौं, बैशाख ६ ।
नेपालकी दोस्रो कोरोना भाईरस(कोभिड-१९) संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।
उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् । गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३० पुगे पनि हालसम्म कुनै पनि मानबीय क्षति भने भएको छैन । कुनै जिल्लामा आईसोलेसनमा रहेकाको निधनका खबर आएपनि हालसम्म कोरोना भएको भने पुष्टि भएको छैन । पछिल्लो समय भारतिय सिमा क्षेत्र तथा भारतबाट लुकिछिपि नेपाल छिरेका नेपाली तथा भारतिय नागरिकमा कोरोना संक्रमण पुष्टि हुँदा यसले भयाबह स्थिति सृजना गर्न सक्ने भएकोले सिमा नाकामा भने अझ कडाई गर्नुपर्ने देखिन्छ ।