जापान, चैत २८ ।
हवाइ उडान बन्द हुनु अघि नेपाल जानुभएका र लकडाउनका कारण हाल जापान फर्कन नसक्नु भएका धेरै जनाले हामीलाई म्यासेज गरिरहनुभएको छ । धेरै जनाको भिसा केही दिनभित्रै सकिनेवाला पनि छ । जापानमा हुनेहरुको हकमा भिसाको प्रकृति अनुसार १ देखि ३ महिनासम्मको समय थप गरिएको भएपनि जापानबाहिर रहेकाहरुको हकमा के हुने भन्ने प्रष्ट सूचना जापान इमिग्रेशन सर्भिस एजेन्सीले दिएको छैन ।
यस्तो अवस्थामा नेपालीहरुलाई केही सुझाव
१. यो प्राकृतिक विपत्ति हो, प्राकृतिक विपत्तिहरु पश्चात आइपर्नसक्ने सबै किसिमका अवस्थाहरुमा जापानको पूर्व तयारी पहिलेदेखिनै राम्रो छ, जापानबाहिर रहेकाहरुको भिसा स्वतः नवीकरण हुने वा ति देशमा रहेका दूतावासहरुमार्फत केही प्रकृया पूरा गरेमा भिसा थप गर्न मिल्ने व्यवस्था हुनसक्छ, त्यसको प्रतिक्षा गर्नुहोस् ।
२. जापानमा तपाई जुन भिसामा रहनुभएको भए पनि आफ्नो कम्पनी, स्कुल, कलेज या युनिभर्सिटीलाई लिखित रुपमा आफु जापान फर्कन नसकेको कारणबारे जानकारी गराउनुस् । जानकारी गराउँदा फोनमार्फत नभई इमेल गर्नुहोला ताकि पछि आवश्यक परेको खण्डमा प्रमाणका रुपमा पेश गर्न पाइयोस् ।
३. जापानमा रहेको नेपाली राजदूतावासमा बुझ्दा भिसा सकिन लागेका सबैले नेपालमा रहेको जापानी राजूतावासमा जानकारी गराउन सुझाव दिने गरेको बताउनु भएको छ । नेपालमा रहेको जापानी राजदूतावासको इमेल ठेगाना inquiry-emb@km.mofa.go.jp हो । इमेल गर्दा आफ्नो बसोबास अनुमति पत्र (जाइर्यु कार्ड), सम्पर्क नम्बर र आफु फर्कन नसकेको कारणबारे जानकारी गराउनुहोला । नेपाली राजदूतावास टोकियोले कोरोना भाइरस र यसबाट परेका जोखिमहरुमा सहयोग गर्नका लागि हटलाइन संचालन गरेको छ । दूतावासका द्धितिय सचिव जीतबहादुर कार्कीसंग 080-3246-2872 मा फोन सम्पर्क गरि कुरा समेत गर्न सक्नुहुनेछ ।
४. आफु जापान फर्कन नसकेको बारे जापानमा रहेको इमिग्रेशन सर्भिस एजेन्सीलाई पनि जानकारी गराइराख्नुभयो भने राम्रो हुन्छ । जापान इमिग्रेशन भिसा सर्भिस एजेन्सीको इमेल ठेगाना info-tokyo@i.moj.go.jp हो । इमेल गर्दा जापानी या अंग्रेजी भाषामा गर्नुहोला र आफ्नो जापान बसाईको अवधी सकिन लागेको र आफु कुन कारणले जापान फर्कन नसकेको हो सो बारेमा प्रष्ट लेखि पठाउनुहोला ।
५. तपाई काम गर्दै गरेको कम्पनी, स्कुल या कलेज वा युनिभर्सिटी मार्फत पनि सम्बन्धित निकायहरुमा जानकारी गराउन भन्नुहोला । आफुले इमेल गरेको इमेलको एक प्रति प्रिन्ट समेत राख्नुहोला ।
६. जापानमा भिसा एप्लाईको प्रोसेस गरेर नेपाल गएको तर अहिले आउन नपाएकाहरुको हकमा भने प्रोसेस गर्दा वकिल प्रयोग गरेका भए वकिलले वा कोही आफन्तले समेत जाइर्यु कार्ड बुझिलिन मिल्ने व्यवस्था गरेकाले सोही अनुसारको प्रकृया अगाडि बढाउनुहोला ।
७. यि सबै हाम्रो व्यक्तिगत अनुभव र भोगाइका आधारमा भनिएका कुरा हुन् । अचानक फैलिएको माहामारीका कारण जापानबाहिर रोकिएका विदेशीहरुप्रति यहाँको निकाय पक्कै पनि लचिलो बन्नेछ भन्नेमा हामी विश्वास राख्दछौं ।
८. यदि तपाई नेपालमा हुनुहुन्छ भने नेपाल स्थित जापानी राजदुताबास वा परराष्ट्र मन्त्रालयमा र जापानमा हुनुहुन्छ भने ईमिग्रेशन वा नेपाली दुताबासमा सम्पर्क गरी बुझ्न सक्नुहुनेछ ।
कोरोना भाइरसका कारण दिन प्रतिदिन अवस्था जटिल बन्दै गएकाले सकेसम्म हतोत्साही नभई संयमतापूर्वक जीवनयापन गर्नुहुन अनुरोध गर्दछौं । कोरोना भाइरसका सम्बन्धमा आवश्यक विभिन्न सूचनाहरु हामीले पनि निरन्तर प्रकाशन गर्दै आइरहेका छौं । हाम्रो फेसबुकपेज भिजन अनलाईन न्युज(फेसबुक फलोको लागि यहाँ क्लिक गर्नुहोला)लाई निरन्तर फलो गर्नुहोला ।
भिजन टि.भी हेर्नको लागि हामीलाई Subscribe गर्नुहोला ।