
चितवन, फागुन ३०।

चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंका गरिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ती व्यक्तिको रगतको नमूना परीक्षणका लागि बिहीबार केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको रिर्पोट नेगेटिभ आएको छ । अस्ट्रेलियाबाट फर्किएकी ती महिलालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिराखिएको सूचना अधिकारी पौडेलले बताए ।
अस्पतालमा यसअघि दुई जना कोरोना संक्रमणको आशंकामा गरिएको परीक्षण नतिजा पनि नेगेटिभ आएको थियो । चितवनमा यससँगै कोराना परीक्षण गर्ने बिरामीको संख्या तीन जना पुगेको छ । तीनै जना बिरामीमा कोरोना देखिएको छैन ।
अस्पतालले कोरोना भाइरसको संक्रमण भएका र शंकास्पद ब्यक्तिहरुलाई राख्न पाँच शैय्याको आइसोलेसन वार्डको क्षमता विस्तार गरी १९ पुर्यातएको छ । तीन सदस्यीय ‘कोभिड–१९ आउट ब्रेक म्यानेजमेन्ट टीम’लाई विस्तार गरी १३ सदस्यीय बनाएको छ ।
अस्पतालले पछिल्लो १० भित्रमा रुघाखोकी तथा ज्वरो आएको, दुई हप्ताभित्र कोरोना जोखिम देशमा भ्रमण गरेका वा यस्ता यात्रुसँग सम्पर्क भएका व्यक्तिलाई अस्पतालको कोठा नम्बर २०१ मार्फत सेवा लिन अनुरोध गरेको छ । हालसम्म नेपाल बाहीर रहेका तीन जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ ।
