
ईरान, फाल्गुण २५ ।

इरानमा अर्का उच्च अधिकारीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । सिरियाका लागि पूर्वराजदूत ६८ वर्षीय हुसेन सेखोलेस्लमको मृत्यु भएको इरानी सञ्चारमाध्यामले जनाएका छन् । भाइरसको संक्रमण देखिएको दुई दिनपछि बिहीबार उनको मृत्यु भएको थियो । हुसेन इरानमा भाइरसका कारण मृत्यु भएका छैटौं राजनीतिक व्यक्तित्व हुन् ।
इरानमा अहिलेसम्म ४ हजार ७ सय ४७ मा संक्रमण देखिएको छ, र १ सय २४ जनाको मृत्यु भएको छ ।
मध्यपूर्वमा इरान सबैभन्दा प्रभावित देश हो । अमेरिकाले कोरोनाविरुद्ध लड्न सहयोग गर्ने प्रस्ताव इरानले अस्वीकार गरेको छ । यसअघि इरानका सर्वोच्च नेता आयतुल्ला अलि खामेनोईका सल्लाहाकार मोहम्मद मिरमोहमदी, सांसद मोहम्मद अली रामेजानी, कृषि मन्त्रालयका अधिकारी मोजतबा पौरखान्ली, प्रमुख न्यायाधीशका सल्लाहाकार अहमद तोयसरकानी, पूर्व राजदूत हादी खोरोशाही र एक वरिष्ठ पादरीका सचिव मोजतबा फजेलीको मृत्यु भइसकेको छ ।
