भारत, फागुन १२ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भ्रमणका लागि सोमबार बिहान भारत पुगेका छन् । यो उनको पहिलो भारत भ्रमण हो । ट्रम्प भारत आएका सातौं अमेरिकी राष्ट्रपति हुन् । ट्रम्पले भारतका लागि हिँड्नुभन्दा केही समयअगाडि हिन्दीमा ट्विट गरेका थिए ‘म भारत आउनका लागि तत्पर छु, म बाटोमा छु, केही घन्टामा हामी सबैसँग भेट्छौं ।’
अहमदाबाद पुगेका ट्रम्प उत्तर प्रदेशको आगरामा रहेको ताजमहल जानेछन् र सोमबार साँझ दिल्ली पुग्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पसँगै उनकी पत्नी मेलानिया, छोरी इभान्का पनि भ्रमणमा सहभागी छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले पहिलो पटक भारत भ्रमण गरेका हुन् । यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाई प्रदान गर्ने बताइएको छ ।
भारतले हालै निर्माण गरेको अहमदाबादको मोटेरा स्टेडियममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रम्प दुवैले ‘नमस्ते ट्रम्प’ कार्यक्रमलाई सम्बोधन गर्नेछन् । ट्रम्पको भ्रमण मुख्य रुपमा व्यापार, रक्षा तथा अन्य शान्ति सुरक्षाका विषयमा केन्द्रित हुने बताइएको छ । तर भारतको आन्तरिक मामिलामा अमेरिकाले कुनै प्रसंग नउठाओस भन्ने भारतको इच्छा छ । यो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास पनि भारतीय अधिकारीले गरेका छन् ।
ट्रम्प विमानस्थलमा ल्यान्ड गर्नेबित्तिकै मोदीले अंकमाल गरेका थिए । ट्रम्पसँगै उनकी पत्नी मेलानिया ट्रम्प, छोरी इभान्का र ज्वाई जारेद कश्नेर पनि भारत आएका छन् । ट्रम्पलाई ट्री-सर्भिस गार्ड अफ अनरसहित स्वागत गरिएको हो । ट्रम्पलाई स्वागत गर्न गुजरातका मुख्यमन्त्री विजय रुपानी पनि विमानस्थल पुगेका थिए ।
ट्रम्पले आफ्नो दुई दिने भ्रमणका क्रममा अहेमदावादका साथै आग्रा र नयाँ दिल्ली पनि जाने कार्यक्रम छ ।