जापान, पुस ३ ।

नेपाली जनप्रगतिशील मंच जापानको डिसेम्बर १२ तारिकमा सम्पन्न आठौ अधिवेशनबाट निर्वाचित कार्यसमिति र आयोगका पदाधिकारी तथा सदस्यहरूलाई आज एक औपचारिक जुम भर्चुअल माध्यमबाट पद तथा गोपनीयताको सपथ खुवाएको छ । नेपाली जनप्रगतिशील मंच जापानका नवनिर्वाचित सचिब खगराज गौतमका अनुसार भर्चुवल जुममार्फ़त शनिवार सम्पन्न सो सपथ ग्रहण कार्यक्रममा निर्वाचन समन्वय समितिका संयोजक तथा पूर्वी एसिया समन्वय समितिका संयोजक हर्क थापाले मंचको २०२१-२०२३ कार्यकालको लागि निर्वाचित पदाधिकारी, सदस्य तथा आयोगका पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथ गराएको बताएका हुन ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै संयोजक थापाले प्रवासी नेपालीको हकहित, अधिकारको लागि प्रभावकारी रूपमा मंचले आवाज़ उठाउन आग्रह गर्दै जापानी नेपाली समुदायका बिचमा आफ़नो विशेष प्रभाव देखाउने गरि आफ़ना गतिविधि संचालनका लागि समेत निर्देशात्मक आग्रह गरे । कार्यक्रममा समन्वय समितिका सदस्य तथा निर्वाचन समन्वय समितिका समेत सदस्य ड़ा. भूपालमान श्रेष्ठले निर्वाचित कार्यसमितिलाई बधाई दिदै संगठनिक गतिविधिलाई बिधि पद्धति र योजनाबद्द रूपमा संचालन गर्न आग्रह गरे ।
समन्वय समितिका सदस्य एवम् इंचार्ज रामहरि पड़ासैनीले केन्द्रका नीति तथा कार्यक्रमलाई आत्मसात् गर्दै जापानको संगठन विस्तार र सुदृढिकरण गर्दै आम नेपालीको लोकप्रिय संगठनको रूपमा मंचलाई स्थापित गराउन आग्रह गरे । जटिल परिस्थितिका बिचबाट आफ़नो कार्यकालमा संगठनलाई क्रियाशील र चलायमान संगठनको रूपमा नया कार्यसमितिलाई हस्तान्तरण गरेकोमा खुशी व्यक्त गर्दै निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक हवलचन्द्र लामाले यहि गति र स्प्रिडमा सगठनको विस्तार र सुदृढिकरणमा लाग्न निर्वाचित कार्यसमितिलाई अनुरोध गरे ।
सोहि कार्यक्रममा निवर्तमान सचिव सालिकराम भण्डारीले नेपालमा पार्टी एकता भएपछि जापानको संगठनले गति लिन नसकेको परिप्रेक्ष्यमा पार्टीहरू आफ़नो आफ़नो संगठनमा क्रियाशील हुदा मंचले जुन उंचाइ हासिल गरेको छ त्यसलाई क़ायम राख्न आग्रह गरे । प्रवासी नेपाली मंच जापानका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख कुलचन्द्र पोखरेलले आफ़नो शुभकामना मंतव्य राखदै आम नेपाली जनताको मुक्तिका लागि सबै एक ठाउमा रहेर एकीकृत रूपमा आन्दोलित हुनुपर्ने बताए ।
अर्का वक्ता नेपाली समाज जापानका पेम्बा शेर्पाले नेपालमा संघीयता कार्यान्वयनका लागि प्रभावकारी कार्य गर्न दबाव सृजना गर्दै जातीय राज्य स्थापनाका लागि सबैले आवाज़ बुलन्द पार्नुपर्ने धारणा राखे । कार्यक्रममा प्रवासी नेपाली एकता मंचका अध्यक्ष सागर रिजालको पनि उपस्थिति रहेको थियो । सो कार्यक्रम निर्वाचन समन्वय समितिका संयोजक हर्क थापाको अध्यक्षता र सदस्य तिलक मल्लको संचालनमा सम्पन्न भएको थियो ।
सपथ ग्रहण पश्चात बसेको मंचको पहिलो बैठकले सचिव खगराज गौतमलाई प्रवक्ताको रूपमा चयन गरेको छ । त्यस्तै गरि मंचलाई नीति, विधि पद्धतिमा संचालन गर्न र विभागीय ज़िम्मेवारी बाडफाड सहित भावी कार्ययोजना तय गर्नका लागि अध्यक्ष भवानी पन्तको समयोजकत्वमा मोहन पौडेल, बाबुराम पौडेल र खगराज गौतम रहेको कार्यदल समेत गठन गरेको छ । बैठकले अधिवेशन सम्पन्न गर्न ज़िम्मेवारी बहन गर्नुहुने सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त समेत गरेको छ ।



441 पटक हेरिएको 
















