
सिन्धुपाल्चोक, मंसिर, २९ ।

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । १८ जना घाइते छन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।
दोलखाको कालिञ्चाेकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा पल्टिँदा ८ जना महिला, ३ जना पुरुष, २ बालक र एक बालिकाको ज्यान गए पनि उनीहरुको परिचय भने खुलिनसकेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो ।
१२ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि लैजाँदा गर्दा बाटाेमा नै ज्यान गएको हो । घाइतेमध्ये २ जनालाई उपचारका लागि काठमाण्डाै ल्याइएको छ भने बाँकीको खाँडीचौरमा उपचार भइरहेको छ ।

कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान ८:१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेकाे छैन ।
सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो ।




1846 पटक हेरिएको 
















