
विराटनगर, कात्तिक १५।

प्रदेश १मा सरकार परिवर्तन हुने भएको छ । प्रदेश १ को विपक्ष गठबन्धनले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अघि सारेको छ । आइतबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राईलाई अघि सार्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र प्रदेशसभा १ का संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
गत भदौ १० गते नियुक्त भएका मुख्यमन्त्री भीम आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । सोमबार मुख्यमन्त्रीले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय भएको पनि ओङ्बोले जानकारी दिए । आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको गठबन्धनले प्रदेश प्रमुखबाट आह्वान भएपछि राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको हो ।
बैठकले मन्त्रालय भागबण्डा र काङ्ग्रेसले दाबी गर्दै आएको आधा कार्यकालका विषयमा मुख्यमन्त्री नियुक्ति पछि छलफल गर्ने निर्णय गरेको आङ्बोले बताए । त्यस बिषयमा केन्द्रमा शिर्ष नेताहरुलाई जानकारी गराउने निर्णय पनि गरेको बताएका छन ।




467 पटक हेरिएको 
















