हेटौंडा, भदौं २ ।
काठमाडौंमा नेकपा एमाले विभाजन भइरहँदा बाग्मती प्रदेशको राजधानी हेटौंडामा भने सहमतिमै मुख्यमन्त्री हेरफेर भएको छ । डोरमणि पौडेलले दलको नेतासँगै मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् भने अष्टलक्ष्मी शाक्य दल नेतासँगै मुख्यमन्त्री नियुक्त भएकी छन् ।
एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले बुधबार साँझ नै पद तथा गोपनियताको सपथ लिएकी छन् । साथै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् । कृष्ण खनाल सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्ति गरिएको छ । पाण्डेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।
मुख्यमन्त्री पुरस्कार
एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित शाक्य मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभामा गएकी थिइन् । तत्कालीन अवस्थामा माधव नेपाल खेमामा रहेका कारण अध्यक्ष ओलिले उनलाई मुख्यमन्त्री बनाउन तयार भएन । २६ माघ २०७४ मा दल नेता चयनका लागि भएको चुनावमा उनी डोरमणि पौडेलसँग पराजित भइन् । आफूलाई मुख्यमन्त्री हुन नदिने राष्ट्रपति विद्यादेवी भण्डारी समेत लागेको भन्दै उनले सार्वजनिक मञ्चहरुबाटै भन्ने गरेकी थिइन् ।
एमाले र माओवादी केन्द्रको एकता गरेर नेकपा बन्दा र नेकपाको एकता खारेज गरेर एमाले पुनर्थापित हुँदा पनि उनी नेतृत्वको खरो आलोचक बनिन् । माधवकुमार नेपाल समूहमा खुलेर लागेकी उनले एमाले फुटाएर नेकपा एमाले समाजवादी बनाउने नेता नेपालको कदममा साथ दिइनन् ।
पार्टी एकताको पक्षमा लडेको पुरस्कार स्वरुप शाक्यलाई मुख्यमन्त्री बनाएको निर्वतमान मुख्यमन्त्री पौडेलले पनि बताएका छन् । पार्टी एकताका लागि मैले त्याग गरेको भन्दै उनले भने, उहाँ (अष्टलक्ष्मी) पहिला जसरी सशक्त विरोधमा हुनुहुन्थ्यो, तर अहिले पार्टी एकताको पक्षमा उभिनुभएको छ । पार्टी फुटेर जाँदा पनि उहाँ एकताका पक्षमा लड्नुभयो, त्यसको पुरस्कार हामीले उहाँलाई दिएका हौं ।’
शाक्यले भने आफू कहिल्यै पनि फुट र विभाजनको पक्षमा नलागेको बताएकी छिन् । ‘म कहिल्यै फुटमा लागिनँ । पार्टीको सामूहिक नेतृत्वमा विश्वास गरेँ । त्यसले मात्र पार्टी बलियो बन्छ भन्ने मेरो विश्वास हो, ’ उनले भनिन् ।