विराटनगर, साउन २८ ।
मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका बासिन्दा हुन । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा बुधबार बिहान १ः२० मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । ‘उहाँमा कोरोनाको मात्र लक्षण देखिएको थियो, अरु रोग भएको जानकारी छैन,’ उनले भने, ‘इमरजेन्सी हुँदै आइसोलेसनमा भर्ना गराएका थियौं ।’
श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले २६ साउनमा कोशी अस्पताल लगेका थिए । कोशीले रेफर गरेपछि धरानमा भर्ना गरिएको थियो । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ७ पुगेको छ । सातै जना मोरङका हुन् ।
जनकपुरका पूर्वमेयर गिरीको कोरोना संक्रमणबाट मृत्यु
जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सन्चालक कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । राजधानी काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उनको उपचारका क्रममा मंगलबार राति १२ बजेतिर मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो तीन सातायता मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय गिरी एक सातादेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए ।
जनकपुरधाममै रहेको अवस्थामा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको थियो । उनका छोरा डा। सन्तोष गिरीका अनुसार उनी मुटु सम्बन्धी रोग, उच्च रक्तचापबाट पीडित थिए । उपचार गर्न अस्पताल भर्ना भएकै समयममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।