वीरगंजमा शनिबार एकै दिन २ जना कोरोना संक्रमितको निधन, कोरोना संक्रमण समुदायमा फैलियो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  530 पटक हेरिएको

वीरगञ्ज, साउन १७ ।  

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको मानिएको वीरगञ्जमा शनिबार मात्र कोभिड–१९ बाट दुई जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । वीरगञ्ज–१६ नगवा बस्ने ६० बर्षीया महिलाको शनिबार साँझ ६ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

नारायणी बयोधा अस्पतालको आइसोलेसनमा उपचाररत उनलाई साउन १६ गते शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले शनिबार उनलाई कोरोना विशेष अस्पताल गण्डकमा रिफर गर्‍यो । तर गण्डकमा ल्याइएका संक्रमितलाई बुझ्ने क्रममा मृत्यु भइसकेको पाइएको डा. निरज सिंहले जानकारी दिए ।

श्वास प्रश्वासमा समस्या भएपनि उनलाई १४ गते भवानी अस्पतालमा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएको भन्दै भर्ना नलिएपछि नारायणी बयोधा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ पनि अस्पतालले भर्ना लिन मानेन । आरडीटी परीक्षण रिपोर्ट माग्यो ।

वीरगञ्ज हेल्थ केयर हस्पिटलमा गएर आरडीटी गराउँदा रिपोर्ट नेगेटिभ आएपछि राति १ बजेतिर भर्ना लिएको मृतकको कान्छो छोराले बताए ।
‘अक्सिजन छैन भनेर भर्ना गर्न मानिरहेको थिएन, आमालाई सास फेर्न गाह्रो भइरहेको थियो’ उनले भने ‘बल्लबल्ल आरडीटी रिपोर्ट ल्याउनु अनि भर्ना गर्छु भनेपछि १५ सय तिरेर आरडीटी गराएँ । त्यसपछि आईसीयुमा राख्यो । तर खानेकुरा नै दिइएन ।’

बयोधामा आईसीयू चार्ज, औषधी उपचारमा गरेर ८० हजार खर्च गर्दा पनि आमालाई बचाउन नसकेको उनले बताए । ‘अहिले त अस्पतालमा विरामीलाई उपचार गराउन निकै गाह्रो रहेछ । आमालाई लैजाँदा अस्पतालको व्यवहार देखेर दिक्क लाग्यो’ उनले भने । यि यस्ता गतिबिधिले कोरोना संक्रमितहरुले अस्पताल सेवा नपाउदै अकाल मै जीवन गुमाउनु परेको छ ।

ट्राभल हिस्ट्री भएका वृद्धको मृत्यु

यसैबीच वीरगञ्ज-१६ नगवा गणेश टोलमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । बारा घर भई वीरगञ्जमा बस्दै आएका ६५ बर्षीय विद्यासागर जयसवालको मृत भेटिएका हुन् । बिजुलीको मिस्त्रीको काम गर्दै आएका उनी एक महिना अघि दिल्लीबाट आएका थिए । घरको ढोका खुल्लै देखेर छिमेकीले हेर्दा सुत्ने कोठाको भुँईमा मृत अवस्थामा भेटिएका थिए ।

स्वास्थ्यकर्मीको टोलीले पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर लगिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । ‘दिल्ली ट्राभल हिस्ट्री भएको जानकारी आएको छ, त्यसैले कोरोनाबाट मृत्यु भएको आशंकामा स्वाब संकलन गरिएको छ’ उनले भने, ‘प्रहरीले पाि अनुसन्धान गर्दैछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार