चरिकोट, असार २५ ।
सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।
भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताउनुभयो ।
भोटेकोशी नदीमा आएको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै बेपत्ता भएका छन्। बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएकाे इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । स्थानीयका अनुसार बाह्रबिसको गाती बजार बगाएको बताए। बाढीले हराइरहेकाहरुको खोजी कार्य भइरहेको उनले बताए।
प्रहरी निरीक्षक न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति बेपत्ता भएको बताए। ‘मेरो इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको छ, घर बगाएको ठाउँ मबाट चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु प्रहरी निरीक्षक न्यौपानेले बताए। बाढीले डेढ दर्जन घरहरु र १५ जनाभन्दा धेरै बगाएको आशंका गरिएको छ। बेपत्ताहरूको खोजी कार्य जारी रहेको जनाएको छ ।