लण्डन, पुष ३ ।
बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगिताको उपविजेता बनेका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि जिते ।
संसारभरका विभिन्न कुइजिनहरुको प्रतिनिधित्व गर्ने झण्डै तीन दर्जन सेफहरुले भाग लिएको प्रतिस्पर्धामा ‘ग्रयाण्ड फिनाले’ सम्म पुगेका नेपालका सन्तोष उपविजेता बने । ‘तर नेपाली खाना विश्वसामु पुरयाउन र लाखौं नेपालीको मन जित्न सफल भएकोमा त्यसलाई मैले उपाधि भन्दा ठूलो उपलब्धि ठानेको छु’, सन्तोषले भने ।
बिहीबारको फाइनल एपिसोडमा नेपाली ढाकाटोपीमा सजिएर उपस्थित थिए सन्तोष । त्यसअवसरमा उनको बारेमा बीबीसीले तयार पारेको एक भिडियो सामग्री देखाइएको थियो जसमा सन्तोषले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए ।
अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले हड्डीवाला भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा पस्किएका थिए ।खानासंगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ’ऐला’ पनि सर्भ गरेका थिए ।
संसारभर प्रतिष्ठित बीबीसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ सन्तोषले फाइनलसम्मको प्रभावशाली यात्रा तय गरे । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भांगको अचार लगायतका दर्जनौं मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका सन्तोषले देश विदेशका लाखौं नेपालीको मन जितेका छन् ।