काठमाडौँ, असार २२ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएको छ । सोमबार रिट निवदेककातर्फबाट जवाफी बहस र एमीकस क्यूरीकातर्फबाट राय दिएसँगै मुद्दाको बहस सकिएको हो । मुद्दाको अर्को पेसी असार २८ गतेका लागि तोकिएको छ । जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनमाथि पक्ष र विपक्षका कानुन व्यवसायीको बहस र संवैधानिक इजलासले झिकाएका एमिकस क्युरीले राय दिने क्रम सोमबार सकिएको हो ।
विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै धारा ७६ ९५० अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश माग गरेका छन् । उक्त रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएको थियो ।
इजलासले रिट निवेदक र विपक्षीबाट असार १० गतेसम्म नै बहस नोट मागिसकेको छ । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलासले ३२ घण्टा समय तोकेको थियो । जसमा रिट निवेदकलाई १५ र विपक्षीलाई १५ घण्टा समय दिएको थियो । २ घण्टा एमीकस क्युरीका लागि तय गरिएको थियो । रिट निबेदक, बिपक्षी र एमीकस क्युरीको बहस सकिएसँगै अब उक्त रिट निबेदकको सुनुवाई हुन लागेको हो । अर्को ईजलास २८ तारिक तय गरिएको र सोही दिन अन्तिम सुनुवाई हुने जनाएको छ ।