काठमाण्डौ, असार १६ ।
सरकारले अहिले कायम स्वरुपकै खुकुलो लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने भएको छ । जस अनुसार लामो समय देखि जारी हवाई उडान बन्द र सीमा बन्द साउन ७ गते सम्म नै कायम रहने छ । मन्त्रिपरिषद्को गएराति राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले बताए ।
गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ ।
सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ भने व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गरिएका छन् । जिमखाना, सपिङ मल, खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न प्रतिबन्ध लगाइएको छ ।
सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइएको छैन भने शिक्षण संस्थाहरु खोल्न निषेध गरिएको छ । सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो । तर असार १ गतेदेखि भने लकडाउन खुकुलो बनाइएको छ ।