काठमाण्डौं, असार १३ ।
सन् २०१९ को डिसेम्बर अन्त्यबाट चीनको वुहानमा शुरु भएको कोरोना भाईरुसले विश्वभर करीब एक करोड मानिस स्रकंमित भएका छन् । अहिले सम्मको तथ्याङक अनुसार ९८ लाख ९६ हजार संक्रमित पुगेका छन् । पछिल्लो बृद्धिदर अनुसार छिट्टै यसले एक करोड नाघ्ने देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक लाख ९२ हजार बढी संक्रमित भएका छन् ।
यस अवधिमा अमेरीकामामात्रै ४६ हजार बढी संक्रमित भएका छन् भने ब्राजिलमा पनि ४६ हजार ९ सय बढी संक्रमित भएका छन् । त्यस्तै २४ घण्टामा भारतमा १८ हजार २ सय बढी संक्रमित भएका छन् । विश्वमा सबै भन्दा धेरै प्रभावित अमेरीकामा २५ लाख ५२ हजार ४ सय ४६ संक्रमित छन् भने १ लाख २७ हजार ६ सय १९ को मृत्यु भएको छ ।
यसै गरी ब्राजिलमा १२ लाख ८० हजार ५४ जना पुगेको छ भने ५६ हजार एक सय ९ जनाको मृत्यु भएको छ । यस्तै रुसमा ६ लाख २० हजार ७ सय ९४ संक्रमित पुगेका छन् भने ८ हजार ७ सय ९१ जनाको मृत्यु भएको छ । भारतमा ५ लाख ९ हजार ४ सय ४६ संक्रमित पुगेका छन् भने मृतकको संख्या १५ हजार ६ सय ८९ पुगेको छ । नेपालमा पनि पछिल्लो समय संक्रमितको संख्यामा उल्लेख्य मात्रामा बृद्धि भईरहेको छ ।