पछिल्लो २४ घण्टामा ५९३ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  638 पटक हेरिएको

काठमाडौं, असार १२ ।  

नोभेल कोरोना भाइरसका ५९३ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९३ संक्रमित थपिएका हुन् । हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६७१ जना थपिएका थिए । पछिल्लो २४ घण्टामा ५९३ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो ।

देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार ६९८ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ४८ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र ४० पुरुष रहेका छन् । हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म दुई लाख ६ हजार २७१ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ९० हजार ३४९ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५३४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ७१ हजार १२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ३० कोरोना संक्रमितहरु रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार