पोखरा, असार १ ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो । चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ । प्रदेशको आन्तरिक स्रोत अपेक्षाकृत रुपमा बढ्न नसकेको, राजश्व बाँडफाँट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएकाले बजेटको आकार घटेको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
मुख्यमन्त्री पोखरेलले मंगलबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ । पुँजीगतर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ छ । वित्तीय व्यवस्थातर्फ २८ करोड रुपैयाँ अनुमान गरिएको छ । बजेटको स्रोततर्फ राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ६२ करोड ७० लाख, रोयल्टीबापत ३० करोड र आन्तरिक राजश्वबाट प्राप्त हुने ४ अर्ब ९८ करोड २७ लाख रुपैयाँ अनुमान गरिएको छ ।
संघमार्फत वित्तीय समानीकरण अनुदान ७ अर्ब रुपैयाँ ४२ करोड २८ लाख, सशर्त अनुदान ४ अर्ब १८ करोड ४३ लाख, समपूरक अनुदान ८७ करोड ३६ लाख र विशेष अनुदान ५४ करोड ९० लाख रुपैयाँ छ । बाँकी न्यून बजेट पूर्ति गर्न चालु आर्थिक वर्षमा असारसम्म खर्च नभई बाँकी रहने अनुमानित २ अर्ब १० करोड उपयोग गरिने पोखरेलले बताए । प्रदेशले आन्तरिक ऋणबाट १ अर्ब र संघीय सरकारमार्फत १ अर्ब ऋणमार्फत बाँकी अपुग २ अर्ब रुपैयाँ पूर्ति गरिने बजेट पोखरेलले सार्वजनिक गरेका छन् ।
हेर्नुहोस् पूर्णपाठ