काभ्रे, जेठ ३ ।
काभ्रेको धुलिखेल अस्पतालमा आइसोलेसनमा उपचाररत एक बिरामीको आज मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत बिरामीको पुष्टि गर्दै अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले के कारणले मृत्यु भएको भन्ने अन्य विवरण भने खुलाएनन् ।
कोरोनाको संक्रमणकै कारण मृत्यु भएको हो भन्ने प्रश्नमा प्रवक्ता ताम्राकारले भने, ‘हाम्रो अस्पतालको आइसोलेसनमा भएको बिरामीको मृत्यु भएको हो । तर यसको कारण केहो हामीले भन्न मिल्दैन । कोरोना परीक्षण गरेको रिपोर्ट पनि ल्यावबाट गोप्य रुपमा स्वास्थ्य मन्त्रालयमा जान्छ । हामीलाई नै पनि थाहा हुँदैन ।’
अस्पताल स्रोतका अनुसार मृत्यु हुने सुत्केरी हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएको थियो । १० दिन अघि त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी उनी अस्पतालबाट डिस्चार्ज भएर घर पुगेकी थिइन् । सिन्धुपाल्चोक बाह्रबिसेकी उनमा घर पुगेपछि श्वासप्रश्वासमा समस्या आएपछि बिहीबार धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालको आइसोलेसनमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको हो । आमाको मृत्यु भएपछि शिशुलाई अस्पतालमै राखिएको अस्पतालका एक चिकित्सकले बताए । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
अस्पतालको प्रयोगशालामा कोरोना पोजेटिभ देखिएकी उनको मृत्यु भएपछि अहिले अस्पताल सिल गरिएको छ । उनको पुन: कोरोना परीक्षण गर्न पठाइएको छ । नेपालमा आईसोलेशन भएको मृत्यु यो नै पहिलो भने होईन यस अघि पनि आईसोलेशनमा रहेका अन्य बिरामीको निधन भएको थियो ।