काठमाडौं, बैशाख २९ ।
नेपाल सरकारले लिपुलेकबारे भारतलाई कूटनीतिक नोट हस्तान्तरण गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार भारतीय राजदूत विनय महोन क्वात्रालाई मन्त्रालय मै बोलाएर कूटनीतिक नोट हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयको ट्विटमार्फत जनाइएको छ । सोमबार परराष्ट्र मन्त्रालयमा भारतीय राजदूत क्वात्रासँग बैठक भएकोसमेत जनाइएको छ ।
यस अघि शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेको थियो । उक्त सडक उद्घाटन भएपछि नेपालमा व्यापक विरोध भएको थियो ।
परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै विवादित भनेर भारतले स्वीकार गरेको भूमिमा कुनै पनि गतिविधि सञ्चालन नगर्न भारतलाई आग्रह गरेको थियो । भारतले भने उक्त विज्ञप्तिको जवाफमा उक्त सडक पूर्णरुपमा भारतीय भूमिमा बनाइएको प्रतिक्रिया दिएको थियो ।
नेपालमा भने भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको भन्दै व्यापक विरोध भइरहेको छ ।