काठमाडौं, चैत ३० ।
सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य भएको फैसला सुनाएको छ । सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेको दुबै अवधि जोडेर संविधानअनुसार योग्यता पुग्ने फैसला गरेको हो ।
संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सहसचिव स्तरको पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्नेछ । तर सुवेदीले राजपत्रांकित प्रथम श्रेणीको पदमा १० वर्ष ४ महिना १८ दिनमात्र काम गरेका थिए । त्यसपछि उनी उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएका थिए । उच्च अदालतको मुख्य न्यायाधीश भई उनले ३ वर्ष २ महिना ३ दिन काम गरेका थिए ।
सर्वोच्चले मुख्य न्यायाधीश पदलाई पनि राजपत्रांकित प्रथम श्रेणी वा त्यो भन्दा माथिल्लो पद मानी सुवेदीको योग्यता पुगेको फैसला सुनाएको हो । फैसलामा मुख्य न्यायाधीश पद न्याय सेवाको विशिष्ट श्रेणी भन्दा माथिल्लो पद भनेर व्याख्या गरिएको छ । ‘न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीको सहसचिवस्तरको पददेखि माथि विशिष्ट श्रेणीको सचिव र मुख्य सचिवस्तरको मुख्य रजिस्टारको पद रहेको र सो भन्दा माथिल्लो पदमा मुख्य न्यायाधीश पद रहेको छ’ फैसलामा भनिएको छ ।
हेर्नुहोस् फैसला