राष्ट्रीय महिला भलिबल टिमको क्यप्टेनमा अरुणा शाही

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1621 पटक हेरिएको

काठमाडौं असोज, २९

नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तानमा अरुणा शाही चयन भएकी छिन् । नेपाल भलिबल संघले नेपाली महिला टिमको नयाँ कप्तानमा अरुणालाई चयन गरेको हो । नियमित कप्तान विनिता बुढाथोकी राष्ट्रिय टिम बाहिर रहदा नेपाली महिला टिम कप्तान विहिन रहेको थियो ।

भलिबल संघका महासचिब जितेन्द्र बहादुर चन्दले बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालको कप्तानी अरुणाले गर्ने जानकारी दिए ।

‘हामीले सेन्ट्रल जोनका लागि कप्तानमा अरुणाको नाम पठाएका छौँ,’ महासचिब चन्दले भने । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड जानु अघि नेपालले कप्तानको तय गरेको हो । नेपाली टिम बुधबार थाइल्याण्ड जाने छन् ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा एभिसी सेन्ट्रल जोनको तयारी गर्न नेपाली टिम थाइल्याण्ड जान लागेका हुन् । अब नेपालले अरुणाको कप्तानीमा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन खेल्ने छ । एभिसी सेन्ट्रल जोन कात्तिक २२ देखि २७ गतेसम्म हुनेछ ।

सेन्ट्रल जोनपछि नेपालले मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमिमा हुने साग खेल्ने छन् । सागमा पनि अरुणाले नै नेपालको कप्तानी गर्ने सम्भावना रहेको छ । नियमित कप्तान विनिता भने यस पटक राष्ट्रिय टिमको प्रारम्भिक चरणमै परेकी थिइनन् । विनिता हाल बिच भलिबलको राष्ट्रिय टिममा रहेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार