नेपालमा थप १ जना वृद्धामा कोरोना पुष्टि, हालसम्म संक्रमित संख्या ६ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  776 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, चैत २० ।

नेपालमा थप १ जना बिदेशबाट घर फर्कि आएका वृद्धामा नोबेल कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्धा भएको पुष्टि गरे । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् ।


अहिले संक्रमण पुष्टि भएकी वृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया किशोरीकी आफन्त हुन् । दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए । त्यसपछि उनीहरु यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एकदिन आफन्तकहाँ बसेर उनीहरु दुबै जिपमा बाग्लुङ पुगेका थिए । ‘घरमा आएपछि सामान्य भेटघाट गर्नुभएको रहेछ । सँगै आएकी किशोरीमा संक्रमण देखिएपछि उहाँ पनि क्वारेन्टाइनमा बस्नुभएको थियो’ एक अधिकारीले भने ।

बागलुङ अस्पताल स्रोतकाअनुसार उनलाई दमको समस्या थियो । तर, बेल्जियमबाट फर्किएपछि कोरोना संक्रमणको कुनै लक्षण पनि देखिएको थिएन । संक्रमण देखिएपछि उनलाई होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी भइरहेको जनाएको छ ।

एउटै विमानबाट आएका तीन जनामा संक्रमण

नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखियो । उनिहरू सबै संक्रमित विदेशबाट आएका हुन् । त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएको खुलेको छ । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो । त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो । त्यसको चार दिनपछि उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा पनि संक्रमण भएको पाइएको हो ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार