काठमाडौं, चैत १९ ।
सरकारले नेपाल भ्रमण वर्ष २०२० अन्ततः औपचारिक रुपमा स्थगित गरेको छ । सरकारले यस अघि अप्रिलसम्मका लागि मात्र स्थगित गरेको नेपाल भ्रमणलाई औपचारिक रुपमा नै स्थगित गरेको हो । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् । कोरोनाले विश्वभर त्रास फैलाएसँगै सरकारले एक महिना अगाडि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको थियो ।
तर, कोरोनासंक्रमण रोकिनुको साटो अझ परिस्थिति जटिल बन्दै गएपछि अहिले आवात जावत बन्द भएको छ । धेरैजस्तो देश लकडाउन हुनुको साथै एयरलाइन्स कम्पनीका जहाजहरु ग्राउण्डेड भएका छन् । सरकारले यस वर्ष ६५ करोड रुपैयाँ बजेट बिनियोजन गरेर भ्रमण वर्षको घोषणा गरेको थियो ।
१ जनवरीमा धुमधामका साथ बिदेशी पाहुनाहरुको उपस्थितिमा भ्रमण वर्षको औपचारिक शुभारम्भ भएको थियो । ७ जनवरीमा संसारभरका नेपालीहरुले मिसन तथा कूटनीतिक नियोगमा यस अभियानको शुभारम्भ गरिएको थियो । तर, भ्रमण वर्षको चौथो महिनामै सरकारले यो अभियान बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएको हो । यस वर्ष मुलुकले तेस्रो नेपाल भ्रमण वर्ष मनाइरहेको थियो । यसअघि सन् १९९८ र सन् २०११ मा भ्रमण वर्ष मनाइएको थियो।