काठमांडौ, चैत १६ ।
नेपाल सरकारको “कोरोना भाइरस,नियन्त्रण आपतकालीन राहत कोष”मा नेपाल चलचित्र कलाकार संघ FAAN कार्यसमितिको तर्फबाट रु एकलाख एक हजार ( १,०१,०००) रुपैयाँ रकम प्रदान गर्ने निर्णय भर्खरै गरेको FAAN का बरिष्ठ उपाध्यक्ष तथा भिजन अनलाईन न्युजका सल्लाहकार समेत रहनु भएकी चर्चित नायिका रेजीना उप्रेतीले भिजन अनलाईनसंगको संवादमा बताउनु भयो ।
FAAN परिवारले बिश्व भरि महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि उच्च स्तरीय समितिले निर्माण गरीएको आपतकालीन राहत कोषमा उक्त रकम जम्मा गरिने पनि जानकारी गराउनु भयो । सरकारले गरेको निर्णयको स्वागत र समर्थन गर्दै आजको बिशेष बैठकबाट सरकारलाई सहयोग गर्ने निर्णय गरीएको हो ।
सरकारले गरेको लकडाउनका कारण टेलिफोनिक संवादबाट उक्त निर्णय गरेको नायिका रेजीना उप्रेतीले जानकारी गराउनु भयो । बिश्व नै कोरोना महामारीबाट आक्रान्त भईरहेको अबस्थामा नेपाल पनि अछुतो रहन सकेन । नेपालमा पनि हालसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको अवस्था छ । यो अबस्था अझ बढ़ने निश्चित छ । नेपालमा हालसम्म बिदेशबाट फर्किआएका नेपालीमा कोरोना संक्रमित देखिएको छ ।