नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ई.उमेशप्रसाद थानी नियुक्त

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  866 पटक हेरिएको

काठमाडौं, फागुन २६ ।  

नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा सुर्खेतका उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्यकारी निर्देशक छनोट समितिले सुर्खेत वीरेन्द्रनगरका थानीसहित गोरखाका चण्डिकाप्रसाद भट्ट र तेह्रथुमका जीवनप्रकाश सिटौलाको नाम कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । तीमध्ये मन्त्रिपरिषद बैठकले थानीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बतायो ।

थानी यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र इन्जिनियरिङ परिषद्का रजिस्ट्रार थिए । उनी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संगठन सिडेनका अध्यक्ष समेत हुन् । २०२७ सालमा स्थापना भएको निगममा संस्थापक महाप्रबन्धकदेखि गणना गर्दा संस्थाको नेतृत्वमा पुग्ने थानी ३३औं कार्यकारी निर्देशक हुन् । संस्थापन कालमा २०२७ पुस २६ गतेदेखि २०४० कात्तिक २६ गतेसम्म सुवर्णविक्रम थापाले नेतृत्व सम्हालेका थिए । निगमको जग बसालेर यसको विस्तारमा थापाको योगदान अतुलनीय मानिन्छ ।

सरकारले तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको कार्यकाल पूरा भएपछि नयाँ कार्यकारी निर्देशक नियुक्तिका लागि गत पुस २५ गते खुला प्रतिस्पर्धाको सूचना निकालेको थियो । त्यसमा १७ जनाको आवेदन परेकोमा एक जनाको मापदण्ड अर्थात् योग्यता कमजोर भएकोले रद्द भएको थियो । बाँकी १६ जनाबाट सिफारिस समितिले ३ जनाको सूची तयार गरेको थियो ।

कार्यकारी निर्देशकमा आवेदन दिनेहरूमा उल्लेखित ३ जना सहित विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा.डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव यादव, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भुपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमार थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार