विराटनगर, फागुन ९ ।
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा आज अविश्वासको प्रस्ताव पेश भएको छ। आज ढिलो गरी शुरु भएको सदनको बैठकमा सांसद ईन्द्र आङवोहाङले प्रस्ताव पेश गरेका हुन् । नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को २९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो।
राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। आइतबार बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा नराख्न र बैठक स्थगित गर्न आग्रह गरे पनि सभामुखले बैठक स्थगित गर्न र प्रस्ताव रोक्न अस्वीकार गरेका थिए । सत्ता पक्षले नै आजको प्रदेश सभाको बैठक बहिष्कार गरेको छ । सरकारले नै संसद बैठक बहिष्कार गरेको यो विरलै घटना मध्य एक हो ।
सरकारका प्रवक्तासमेत रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले निलम्बित सांसद उपस्थित भएसम्म बैठक बहिष्कार गर्ने निर्णय भएको भन्दैं बैठकमा नजाने बताए । अर्को बैठक फागुन २० गते बस्नेगरी आजको प्रदेश १ को संसद बैठक स्थगित भएको छ ।