रामकुमारी झाँक्रीको पक्राउ सर्वसत्तावादी र अधिनायकवादी चरित्र भएको नेपाली काग्रेस नेता पौडेल कोईरालाको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  654 पटक हेरिएको

काठमाडौं, माघ २९ ।  

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (प्रचण्ड-माधव पक्ष)की नेतृ एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गरी सरकारले अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् । बिहीबार बिहान प्रहरीले शंखमूल स्थित झाँक्रीको आफ्नै घरबाट पक्राउ गरी नेपाल प्रहरीको अपराध महाशाखामा सोधपुछको लागि राखेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिको आधारमा राज्यविरुद्धको कसुरमा झाँक्रीलाई पक्राउ गरेपछि त्यसको विरोध गर्दै पौडेलले ट्वीटरमा लेखेका छन् ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नाङ्गो हस्तक्षेप गरेको छ।’ पौडेलले झाँक्रीलाई पक्राउ गरिएको घटनामा घोर भर्त्सना गर्दै बिनाशर्त रिहाइको माग समेत गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा कोइरालाले सरकार जति रहन्छ, देश त्यति नै अनिश्चितताको भूमरीमा फस्ने पनि ठोकुवा गरेका छन् ।

‘अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध बोलेकै भरमा नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको छ’, कोइरालाले लेखेका छन् ।

कोइरालाले झाँक्री पक्राउको भत्र्सना गर्दै तत्काल रिहाइको माग समेत गरेका छन् । झाँक्रीलाई राज्यविरुद्धको कसुरमा नेपाल प्रहरीको अपराध महाशाखाले शंखमुलस्थित निवासबाटै पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार